घरमा विवाहको तामझाम छ । सबै खुशी छन । साथसाथै दुखी पनि छन । सबैलाई पिरलो छ । हतारो छ – काम सक्न । आफ्नै कोठामा जाडोले कठ्याङ्ग्रीएर मजेत्रो ओडेर खाटमा बसीरहेछु – म । मलाई बेहुली हुने हतारो पटक्कै छैन् ।

बाहिर आँगनमा स्कुले केटाकेटी स्कुलकै ड्रेसमा छन । होहल्ला गर्दै खेल्दै रमाउँदै छन ।  कहिले मचानमा, त कहिले मेरै कोठाको दराजको कुनामा लामो लामो श्वास फेर्दै लुक्छन । मलाई पिलीक्क हेर्छन । अलिकती डराएजस्तै गर्छन । फेरी फुत्त ढोका बाहिर लुक्न जान्छन । लुटुपुटु गर्ने यही भदैनी हो । अहीले हातमा सेलरोटी बोकेर टोक्दै सिरानीमाथी बसेर मलाई हेर्दै “खाउ-खाउ” भन्दै छे । केटाकेटी सानामा रहर लाग्दा हुन्छन । तोतेबोली कती मिठो सुनीन्छ । आफ्नु हुनै पर्दैन केटाकेटी हुनु पर्छ ।  मेरो टिकाटालो भएदेखी मेरो पछी पछी लागेकी । सुत्दा समेत मै सँग सुत्न खोज्छे । बिहान उठ्दा देखी रुदै मलाई खोज्दै आईपुग्छे । छोरी को जातै कती गुनी । जन्मदै लिएर आएको ।   

सेलरोटी हातमा लिएर निकै बेर देखी खेल्दै छन । खेल्न्दा कती रमाईलो हुन्छ । म पनी अस्ती-अस्ती सम्म खुबै खेल्थेँ । कहीले छोई डुम । त कहीले ढ्याक । कुनै बेला गाउँका केटाहरू मिस्सीन आउँथे । मोराहरूसँग  खेल्दा ज्यानै दुख्ने गरी ढाडमा ढ्याप्प गर्थे । भुतुक्कै हुन्थेँ ! दुर्गाले त झन हात समातेर गुटुटु कुदाउँथी । मोरी कती बलीई थिई । म लुरी, मेरो खुट्टा दगुर्न नसकेर खुब काँप्थे । नकुदे म लड्छु भन्ने डरले पनी कुद्थे । मरेर कुद्थे । म दगुर्न नसकेको देखेर मलाई हेर्दै हाँस्थी । औधी माया गर्थी । हामी दुईजना हिँडे पछी कोही चाहीँदैन थ्यो । निकै अबेला सम्म गफ गर्दै बस्थ्यौँ ।  त्यसको विवाह पछी त कोही त्यत्ती मिल्ने साथी नै भएनन् । यती सम्झीँदा म मुसुमुसु हाँस्दै रहेछु । मलाई झट्ट याद आयो । एक दिन म बजार गएको बेला डेनी डेन्जोङ्पाको फिल्म हेर्न भनेर सिनेमा हल भित्र टिकट काटेर कोही कसैले सुईको नदीई ग’को थिएँ । फिल्म सकियो । हल बाहिर निक्लीए । झसङ्ग भए । फिल्म सकीँदा त सीतले भुई ओस्याइसकेछ । झमक्कै साँझ परेछ । डरले हंस छोडयो । बाटोमा सबैले मेरै कुरा गरे जस्तो लाग्छ । मलाई नै हेरे जस्तो लाग्छ । हात बाँधेर गुटुटु दगुरे । घरमा मेरो निकै खोजी भएछ । एक्कासी यसरी हराउने कतै जाने मान्छे त हैन भन्ने पनी भएछ । अन्तीममा पुलिसमा खबर गर्न बा’ र दाई जानु भएछ । मलाई देखे पछी रुवाबासी चल्यो । त्यस दिन देखी म साँझ मात्र हैन जुनसुकै बेला आमा सँग मात्र हिँडन थालेँ ।      

“खाना खान जाउँ । आजै मात्रै त हो  घरको खाना खाने तैले । भोली बाट त माईत हुन्छ तेरो ।” बिनीताले खाना खान बोलाउँछीन ।

ढोकाबाट पसेको पत्तै नहुने गरी म कल्पना को दुनीयाँ मा निकै पुराना सम्झानामा डुब्न पुगेछु । पुराना कुराहरूले कती सहजै मन भुलाईदीन्छन । म टोलाउँदै कती पछाडी पुगेँ । भोगाईको संसारमा । मस्त । क्षणभरलाई आँखा उघारेरै हराउँदा को मस्त । खोज्ने मान्छे कोही नहुँदो हो त, हराउँदामा आनन्द भन्दा पिडा बेसी हुन्थ्यो ।खोज्ने मान्छे छन र त हराईन्छ । ती दिनहरू चाहेर पनी फर्किदैनन । मस्तिष्कका कती धेरै स्मृती पनी हराईसके । र त कुनैबेला खोज्दा तीनै स्मृतीले पनि तृप्ती दिन्छ । अबका दिनहरूमा सम्झिन पाईने हो वा हैन ?   

विनीताको बोली तातो थियो कि चीसो थियो जानीन । भोक भने लागेको रहेछ । भात भन्ने बित्तीकै उनको पछी लागी हाले । फेरी मलाई भात बाहेक अरु खान्कीले पटक्कै पेट भर्दैन । राती हावा भरीएर कुईकुई कराउन थाल्छ । अन्त कतै गएँ भने मलाई धौ पर्थ्यो – रोटीले छाक टार्थे । तर मलाई चामलको गेडो पेटमा पर्नै पर्छ ।  

 उनको पछी लागेर भान्सामा ओर्लीएँ । सरम लाग्यो । कती धेरै मान्छेले मलाई नै मुण्टो ठाडो पारेर हेरेका । ति सबै नजरहरू मायाले भरीएका थिए । मायाले हेर्दा पनी लाज लाग्ने रै’छ । अर्कै प्रकृतीको । बोली अड्कीने ! घोसे मुण्टो लगाउन मन लाग्ने । आफु नीहुरेपछी कसैले देखेका छैनन् भन्ने खालको । मैले नी त्यसै गरेँ । 

भान्सा कोठामा थकीत अनुहारहरू देख्छु । हिजो पनी दिनभरीको काम चौका-चन्दाको, केराको खम्बा, निँगालो, उखु, बाँस, पय्यु, बर पीपलको हाँगा जोरजाम गर्ने । कोही जग्गे लिपपोत गरेर चटक्क पार्ने । दाउरा चिर्ने । धान कुट्ने । चीउरा कुट्ने । लिपपोत गर्ने । दुना टपरी जोड्ने । माला गाँस्ने । खुदो पकाउने । कसार बटार्ने । बुक्मा बनाउने । यावत कामले भरीएको । त्यसै भनेको हैन रै’छ बिहे घर जस्तो भनेर । आज आँगन पोलेर नान्दीमुख श्राद्ध त्यही गरेको । चौका चन्दा र जग्गे घर वरीपरी तोरन घेरी सके । 

चुल्हो बलीरहेको छ । आगो सँगसँगै धुवा घुमीरहेको छ । चुल्होले फुर्सद नपाएको निकै दिन भई सक्यो ।”जहाँ स्त्री, त्यहाँ श्री”, हो रै’छ बुढापाकाको भनाईमा सत्यता छ । यत्तीका दिनसम्म पकाउने, तुल्हाउने मात्र नभई निकै पो काम सर्यो त । त्यती मात्र हैन काटकुट्, ताछ्ने, कुट्ने, गाँस्ने, मिलाउने, ईत्यादी गरेर नसकिने काम छ । हो-हल्ला छ । आजै मात्र हो म कम बोलेको । घरमा चाडपर्व हुँदा, कुनै कार्य हुँदा मेरो आवाजले घर घन्कीन्थ्यो । आज सबैको आवाज मिस्सीएको छ । थाल बोकेर  म मतानपट्टी खाना खाएर सुत्ने कोठामा आएँ । निकै अबेला सुत्यौँ ।   

आज खल्लो लागिरहेको छ । घरभरी पाहुना छन । सबेरै ति सबै उठीसके । साना साना केटाकेटी होहल्ला छेक्न सीरकले सिरसम्म घप्लक्क छोप्छन । गुडुल्की परेर खुट्टा दोबर्दै पुन निद्रामा डुब्छन । फुपु-फुपाजु, काका, काकी, मामा-माईजु, हजूराआमा, ठुलीआमा, ठुलौ नुहाएर फर्कीसकेका छन । आमा, ठुलीआमा, माईजु काकी घरका सबै महिला चुल्होमा व्यस्त भए । सगुन, दिदी, विनीता, मन, मेरा उमेरका सबै जना मेरै सानो कोठामा सुतेका थियौँ । उठ्दा सँगै उठ्यौँ । रातभरी सबैले मलाई उत्ताउला कुरा सुनाउँदै हाँसोमा उडाए । 

“आज मात्रै त हो दिदीसँग सुत्न पाउने । भोलीबाट भिनाजुले कुखुराले चल्ला लुकाए जसरी खोकील्लामा लुकाउनु हुन्छ ।” सगुनले भनी । उनको सानैमा विहे भएको । त्यसैले पनी मुखमा जे आउँछ लाजै नमानी बोल्थी । उनको कुरा सुनेर मज्जा मान्दै कोठै उचाल्ने गरी सबैजना हाँस्थे । म लाजले भुतुक्कै हुन्थेँ ।

“छी नचाहिने कुरा नबोल ।” आँखा टेडो पार्दै रिसाएको मुद्रामा म भन्थेँ । 

मेरो वचन भुईमा नखस्दै विनीता थप्थी । “तेरो अनुभव सुनाई’दी राख है सगुन ! भोली राती दिदिको सातो जाला ।” सबैजना गलल हाँस्छन् ।

“धेरै उत्ताउलो न हो ।” 

“हाम्री दिदी काँ कम्तीका छिन र । सबै था’छ । कसो दिदी ।” सगुन झनै उत्साहीत हुँदै उठ्छे । 

“आच्छु । मर्छे कि क्या हो । सिरक छोड । कि छिटो भित्र पस । जाडो भयो ।” म सगुनले लगेको सिरक तान्दै भन्छु ।

फिँजारीएको कपाल गुजुल्टो बनाउँदै “दिदीलाई आजैबाट चिसो भई सक्यो । उता भिनाजु रन्केर बस्नु भा’होला । भोली तातौली दिदी । आजैबाट हतारो नलाउ ।”  

त्यसपछी खाटमा हामी दुई जना सुत्यौँ । आज त श्रीष्टी पनी यही खाटमा घुस्रीन पुगी । भुईमा गुन्द्रीमाथी ओछ्यान लगाईएको छ । यहाँ कती जना अटीन्छन् थाहा छैन् । विवाहको सुरसार हुँदादेखी पाहुना आउने क्रम सुरु भएको , अझै बढेको छ । गन्ती नै छैन । विहान उठ्दा सबै लम्पसार देखिन्छ । श्रीष्टीपनी खाटमा घुस्रीन ढोकाबाट पस्छे । मनको खुट्टा क्याच्च टेकेर । “मरी राँड्!! ऐया नी ! ठनक्कै पारी !”

अब सगुन र श्रीष्टी भएपछी हाँस्नलाई केही विषय नै चाँहीदैन् । १४ वर्षकी श्रीष्टी र २४ वर्षकी सगुन उमेरले दिदी-बहिनी भएपनी खुब मिल्छन् । घाँस दाउरा, मेलापात्, सामन किन्न्, दसैँमा लुगा समेत उस्तै-उस्तै किन्छन् । नाताले काका बा ठुलाबा’ का छोरी र बुहारी हुन । नन्द र भाउजु । उमेरले सानै भएपनी सगुन भित्रीएको दिनदेखी नै आफ्नै दिदी जसरी भौतीक र नैतीक सहयोग गर्दै आईन । विवाह भएर आएपछीको पहीलो सँगी हुन श्रीष्टी ।  

“हाम्री दिदीलाई हामीसँग सुत्दा त निद्रा पर्दैन । कसरी सुत्लीन नी बरै !” श्रीष्टीले खितीतीतीती हाँस्दै कोल्टो परेको मलाई कुम तान्दै उत्तानो पार्न खोजी । म सजीलो भईदिएँ । उत्तानो पनी परीदीएँ । मेरो अनुहारमा हँसीलो मुहारले हेर्दै हाँसी नै रही । “दिदी मख्ख पर्दै हाँसेकी ।” जुन कुरा सगुनले भने पछी थाहा पाएँ । म साँच्चै मुसुमुसु हाँस्दै थिए । 

“सको त खुँ । विजेतको भारी ।” श्रीष्टी हाँस्छे । 

“त्यसै त्यसै मस्केकी छीन दिदी । निद्रा नपरेकै राम्रो । भिनाजुले उठाउनु त पर्दैन । बरु आफैँ मडारिएर भिनाजुलाई उठाउँदै रात विताउने । कती सजीलो ।” सगुन थप्छे । 

पेट मिचेर हाँस्दै छन् । म पनी मनमनै हाँसेको छु । तर उनीहरूले भनेजस्तै कल्पना गर्ने हुर्मत म मा थिएन् । साँच्चै भन्दा उनको अनुहार नै मैले बिर्सीसकेको थिए । मलाई हेर्न आउँदा मैले उनको तिर आँखा लगेँ । तर उनले नै पो मलाई पर्लक्क आँखा फर्काउँदै चोर आँखाले हेरेको बाहेक केही याद छैन । भान्सा गर्न बसेका बेला उनले लगाएको जुत्ता निकै बेर हेरेँ । अघी नेहुँरीदा देखेको डरलाग्दो जुत्ता यही हो ! लात्ताले अली पर सम्म फ्याँकीदिउ जस्तो लाग्यो । सेतो, खैरो, कालो पाटा भएको । मेरो खुट्टा दुईटै खुट्टा अटाउने लामो निलो तुना कसेको । घोप्टीएको जुत्तालाई हातले उत्तानो पार्दा डरले हंस छोडयो । आमाको चप्पल पन्छाउँदै उनको जुत्ता दैलो छेउमा राखेँ । उनी भान्साबाट निक्लने वित्तीकै उनको खुट्टा जुत्तामा परोस भनेर । “छोरीको जुनी कस्तो ? मलाई रिस पनी उठेको छ । मेरो बिहे नगरे हुँदैन ? म आमालाई सघाउथेँ । खाना बनाउँथेँ । स्कुल जान्थेँ । दैबले उनी मेरो पती हुँदै छन भन्ने थाहा हुँदा बाटै उनीप्रती सम्मान जाग्नु पर्ने । मैले त उनलाई राम्ररी हेर्न समेत पाइन । न त उनले नै मलाई हेरे । केटाकेटी कुरा गर भनेर मचानमा पठाउँदा एक बचन बोलेनन् ।”

“दिदीको मजा आउने दिन सुरु भयो ।” विनीता आगोमा घीउ थप्छे । 

“हैन किन मरेका उत्ताउला छौँडाहरू । को को छौ यहाँ खै !” बाहीरबाट तल्लाघरे सानीमाले ढोका उघार्दै भनीन । कम्मरमा हात राख्दै ।”के हो रात्भरी हल्ला गरेर बेहुलीलाई सुत्न दे’ नौ । कत्तीन छिल्लीँदै । तिमरका पनी पालो आउँछ किन आँत्तेको ।”

“फुपु दिदिको कमी थियो । आउनु दिदी याँ बस्नु ।” मनले अलीकती झ्यालपट्टी सर्दै भनी । 

ढोकाबाट पस्ने बित्तिकै केटीहरूको झोला छ । झोलामाथी लुगाको रास नै बनेको छ । कसको लुगा कुन हो अत्तोपत्तो छैन् । विहानै सुरुवाल हरायो, बोटिस हरायो, हरायो । धागोको लाक्षी हरायो । विवाहको घरमा यसरी सामान यताउता पर्नु नौलो कुरा हैन । सबैजना विवाहमा सामान यताउता पर्छ भन्ने अड्कल काटेर नै आएका हुन्छन । 

कोठा उग्रीगन्ध । चर्पी टाढा त्यस्माथी  चिसो । अमीईईईलो । वाक्क आउने । निदाउँदा गन्ध नै थाहा नपाउने रै’’छ कि के हो । “अली पर सर ।” भन्दै सिरक टेक्दै मन भएतीर पुग्न नपाउँदै सिरक जुरुक्क उचालेर ह्वाङ्ग पारीन । “छौँडा हरू हग्न जा’ओ । सिनो गन्हाएको जस्तो पादेका । हसुर्नु हसुरे । छी: छी: छी: कती अमिलो । ” नाक खुम्चाउँदै कुईनाले ठेल्दै मनलाई भनीन “झ्याल खोल त्यो ।” झ्याल पुरै नखुल्दै उनले मुखको पनी थुकीन । चोलोमा चुईएको थुक हातले सोहोरीन । मनको पछ्यौरामा हात पुछीन । मनले फन्कीँदै “काँ त्यहाँ पुछ्या’ ? दिदीको त सोमत छैन । अस्तीपनी मेरो बोटीस आजलाई मात्र त हो भनेर लगेकी, दराल्दा-दराल्दा हल्लुड जस्तै परेर ल्याईदेकी थी’न । ” घरै उचाल्लीने गरी सबै हाँसे । म पनी हाँसेँ ।   

“झ्याल अलीकती ढप्क्या त मन ! चिसो आयो ।” मैले सिरक भित्र गुडुल्कीँ पर्दै भनेँ ।

“यै हो धेरै वायु फ्याँक्ने त ।” सानीमाले मलाई ठुलो आँखाले ईसारा गर्दै भनीन ।

“ई सानीमा पनी । नहुने बाहेक केही कुरा गर्नु हुन्न ।” मैले हैन भन्ने संकेतात्मक प्रतीक्रीया गरेँ । यत्तीकैमा आमा, ठुलीआमा, काकी फुपु पनी ढोकामा उभीनु भयो । “हैन के हो यो ? यसबेला सम्म नसुतेर ।” फुपुको ठुलो आवाज कोठामा पस्यो । ढोकातीर सबैको ध्यान तान्यो । म भने सुतेकै ठाउँबाट मुण्टो अझै सोझ्याउँदै तेर्सीएर आँखा उभो पार्दै ढोकामा उभीएका सबैलाई उल्टो देख्ने गरी हेरेँ । आमा, तल्लाघरे भाउजु, पल्लाघरे काकी, गैराघरे काकी सबैलाई उल्टो देखेँ । काकी पछाडीबाट चेप्पीँदै घुस्रेको पनी देखेँ । उहाँ हामी भएको कोठामा पस्नु भयो । खाटमा बसौँ की भुईमा बसौँ आँखा घुमाउनु भयो । फरीया सम्हाल्दै भुईमा बस्नु भयो । झोलाको थुप्रो छेउमा । फुपु थाकेको शरीर आड लगाएर बस्नु भयो ।  

आमा मलाई हेर्दै रुन सुरु गर्नु भयो । अघीको हाँसो मजाक आमाको आँसुले खल्लो क्षणमा परीणत भयो । मेरो मन झनै चिसो भएर आयो । हाम्रो मन जस्तो पनी हुने । सबैको आँखामा आँसु टिल्पीलाउन थाल्यो । यसबेला मेरो मनमा डर, चिन्ता, आँतेस, त्रास, अनेकौ भयले तर्साउन थाल्यो । पिँडुला बाँउडीन थाल्यो । खुट्टा करकर खाएर चिसा हुन थाले । पेटमा बुलुक-बुलुक हान्न थाल्यो । पेट तातो हुँदै आयो । कान टुनुनुनु बज्दै थियो । 

रात छिप्पीँदै थियो । मसँग सुतेका श्रीष्टी र सगुनले बिचमा मलाई पारे । दुईजनाको विचमा उकुसमुकुस भएँ । एक प्रहर निदाउन हम्मे भयो । झ्याउँकीरी र भ्यागुता कराएको प्रष्टै सुनीन्थ्यो । कुनबेला झपक्क आँखा लागेछन, पत्तो पाईन ।    

“उठेर नौ’न गै’हाल ।” भन्दै बाहीरबाट काकीको आवाजले झल्याँस्स व्युँझीएँ ।

आँगनमा भएको जग्गे वरीपरी चरूका धुलो देखेँ । पातहरू, बाबीयो, डोरी, फूलका थुङ्गा, बटुका, बिजोर चप्पल, यत्रतत्र छरीएका सामानहरू । हाम्रो घरको आँगन रातोमाटोले लिपेर टिलीक्क टल्केको, चम्केको हुन्थ्यो । आज मलाई हतारो छ । मैले चाहेरपनी आँगन लिपपोत, सरसफाई गर्न असमर्थ छु । मलाई हतारो आफु सज्जीनको लागी छ । बेहुली हुनको लागी । म कसैको लागी तयार भएर बस्नु छ । म सुम्पीनु छ । मैले यो आँगनलाई अब पाहुनाको रुपमा मात्र उपभोग गर्न पाउनेछु । म चेली हुँदै छु । भैसकेँ । जुन दिन उसलाई र मलाई मेरा बाबुले एउटै थालीमा भएको टिका लगाईदीनु भयो । यो कस्तो बैना हो मेरो जिन्दागीदेखी । विडम्बना उसले ल्याएको स्वयम्बरको वस्त्र मेरो शरीरमा पहीरीनु छ  । उसैले सिन्दुर हालेर आगोलाई अग्नीदेब मानेर फन्को मार्नु छ । र म अन्मिनु छ । म चेलीबेटी हुनु छ । मेरो जन्मघरलाई माईती बनाउनु छ । मेरो आमा बा दाजु भाई बहीनीलाई मेरो सम्झानाले पिरोल्नु छ । कोख रित्तीनु र मलाई अन्माउनु एउटै हो । म सजीब भएरै कोख रित्त्याएर कर्म थलो जान्छु ।  

अनुचित सम्झौता । नचीनेको उसलाई मेरो भन्नु पर्ने । आजैबाट उ सँग सुत्नु पर्ने । आजै छुई भए पनी हुने नि । हैट’ हुन्न । झल्याँस्स भए । कस्तो बुद्दी आ’को होला । पुन: अघीकै मनोबादलाई निरन्तरता दिए । म नहुँदा कस्ले हेरचाहा गर्ला यि फूलहरूको, करेसाबारीको । यो पुतलीले आमालाई दुध दिन मान्छे की मान्दिन ।

मनले हतारो गरेर पाखुरा समात्दै अगाडी तिर तानी । नुहाउन ठिक पारेको लुगाको पोको च्याप्दै पँधेरा तिर लाग्यौँ । तिरतीरे धारोले बल्ल्बल्ल नुहाईसक्दा हात गोडाकाठ्ठीए । मनले सुरुमै पुछेर गम्छा चिसो बनाई । मैले त्यसैले पुछ्नु पर्‍यो । पुछेँ । डगडग काम छुट्दै घर पुग्यौँ । अँगेनामा झुम्मीएर महुरीले रानो घेरे जसरी घेरेर बसेको देखेँ । म पनी यसरी नै बस्थेँ । माने कचौराको एक कचौरा दुध पीउथेँ । दुधको तर सार्है मन पर्छ । तर को कारण खाना खाने बेला झगडा नै पर्थ्यो । दाजुहरूले तरमा जुठो हाल्दिन्थे । म जुठो नखाने । झनक्क रिसाउथेँ । सनक्क सन्किन्थेँ । घुर्क्याउथे । आमाले त्यस्पछी छुट्टै कचौरामा लुकाएर राखीदीन थाल्नुभयो । उनलाई दुधको तरसँग खाना मिठो लाग्छ की लाग्दैन होला ? म बुहारी भए पछी यसरी दुध खान पाईन्छ की पाईदैन होला ? बस्तुभाउ कती छन होला म जाने ठाउँमा । मलाई भकारो सोहोर्न घीन लाग्छ । यहाँ त आमाले सोहोर्नु हुन्थ्यो । 

“तात्ताको स्वाट्ट पारी हाल्नु ।” भाउजुले सुटुक्क दुध दिनुभयो । म अँगेनोमा घुस्रेर यताउता आँखा नचाएँ । मलाई कसैले “खानु हुन्न” भनेर नभनोस भन्ने सोच्दै स्वाट्ट पारेँ । आन्द्रा तात्दै शरीरभीत्र भिजायो । लाग्थ्यो कपालका केस-रासी सम्म तात्न भ्यायो । 

आँगनमा पुरोहीतले वाचन गरेको मन्त्र सुनेँ । झ्यालको प्वालबाट बाहीर को-को छन हेरेँ । तल्लो बारीमा धुवाँको मुस्लो देखेँ । ठुला-ठुला खडकौँला  देखेँ । डेक्ची  देखेँ । ५-७ वटा गाग्री देखेँ । दाउराको चाङ देखेँ । धोती र जनै लगाएका, टाउको मुण्डन गरेर लामा लामा टुप्पी राखेका पुरोहीतहरूले खाना बनाउने तरखर गरेको देखेँ । ३-४ लस्कर बनाएर ओछ्याएको गुन्द्री देखेँ । बन्द कोठामा झ्यालका प्वालहरूबाट जती घाम चहकीला बन्दै गए त्यती मेरो आँखा घामले छुँदै गयो । 

मैले यही प्वालबाट उनलाई नडराई हेर्छु । अबको केही क्षणको प्रतिक्षामा उनलाई देख्छु । डर पनी छ । के हुने हो ? कसरी हेर्नु । कोठाभरी मान्छे हुन्छन । अहील्यै यस्तो अत्तालीईसकेँ । म यो बिहेको लागी तयार नै छुईन जस्तै लाग्छ । सबैलाई यत्तीकै डर त पक्कै लाग्दैन ? मेरो त मुटुनै निक्लेला जस्तो भा’को छ । हात काँप्न थाले। थचक्क भुईमा बसेँ । लाचार भएर ।   

नाईलनको झोलाबाट धागो, चुरा, गाजल, बट्टाको पाउडर घस्न थालें । सबैको आ-आफ्नै सुरमा बोल्दै हल्ला खल्ला सुरु भयो । मलाई सिँगार-पटार गर्दै थिए । आफु सजीने सज्जिँदै थिए । मैले देखेँ । मेरो आँखा ठ्यक्कै श्रीष्टी भएतीर जानु र उनले लिपस्टीक भुईमा खसाल्नु । परक्कै भाँचीयो । भुईमा खस्न नपाउँदै मन ले कच्याक्क कुल्चीदिई । सिन्कोले कोट्याउँदै मेरो ओठमा लाली लगाएँ । मेरो सानो ओठलाई पुग्यो । “आहा! कती राम्री देखीएकी ।” भन्दै एक्छीन मलाई हेर्दै जान्थे । त्यती सुन्दा मेरो मन फुरुङ्ग हुन्थ्यो । तर आमा लाई देखेपछी मन के मान्थ्यो । आँसु आईहाल्यो । आमालाई अर्को कोठामा लगे । सबै उतै गए । म एक्लो भए । अब बाट सँधै एक्लो हुँदै छु । आँसुलाई रोक्न नसकीने रहेछ । आफु सुतेको ओछ्यान नै सबैभन्दा प्यारो सखी । धेरै रात यही ओछ्यानमा सिरक टोक्दै रोएको छु । आज अन्तीम पटक रुने अवसर छोडन मन लागेन । म किन रोएँ स्पष्ट कारण यही ओछ्यानबाट अलग हुनु हो । आज बाट यहाँ म हुन्न । म यो खाटमा चाहेर पनी सुत्न सक्दिन। म निकै रात रोएको यो सिरानी र सिरकलाई मात्र थाहा छ । अब रुँने कसरी होला । म नहुँदा यो सिरानी ले मेरो कथा कसैलाई भन्ला कि नभन्ला ?